कालो ढुसी रोगबाट बच्न के गर्ने ? वरिष्ठ चिकित्सकहरु सल्लाह !

काठमाडौँ – नेपालमा कोरोना सङ्क्रमण भइसकेका बिरामीमा कालो ढुसीको सङ्क्रमणसमेत देखा परेको छ । समयमै सचेत भए कालो ढुसीबाट बच्न सकिने चिकित्सकको सुझाव छ । यो लेख गोरखापत्रमा प्रकाशित छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशका विभिन्न स्थानमा गरी १० जनामा कालो ढुसी रोग लागेको जानकारी दिएको छ । मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले कोरोना सङ्क्रमण भई उपचार गराइरहेका र निको भइसकेकाहरूमा कालो ढुसीको रोग लागेको जानकारी दिनुभयो । डा. पौडेलका अनुसार हालसम्म वीरगञ्ज, काठमाडाँै, नेपालगञ्ज, कैलालीलगायतका ठाउँमा कालो ढुसीका रोगी पाइएको जानकारी छ । कालो ढुसी प्राणघातक भएकाले सचेत रहनुपर्ने उहाँको भनाइ छ ।

केही दिनअघिसम्म कालो ढुसीको औषधिसमेत नपाइरहेको अवस्थामा सरकारले विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)लाई आग्रह गरेर एक हजार भाइल औषधि ल्याइसकेको छ । प्रवक्ता डा. पौडेलले तत्काल थप दुई हजार भाइल औषधि ल्याउने तयारी भइरहेको जानकारी पनि दिनुभयो । उहाँले स्वास्थ्य सेवा विभागमार्फत १० हजार भाइल औषधि खरिद गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।

वरिष्ठ नाक, कान तथा घाँटीरोग विशेषज्ञ डा. ढुण्डी पौडेलले कालो ढुसी रोग लाग्नै नदिनेतर्फ लाग्नुपर्ने बताउँदै यसको सङ्क्रमण बढ्दै जाँदा शरीरका विभिन्न अङ्गमा क्षति पु-याउने जानकारी दिनुभयो । डा. पौडेलले कालो ढुसीको सङ्क्रमण भएका बिरामीमा ज्वरो आइरहने, अनुहार, मुख, नाक, आँखा वरिपरि दुख्ने, आँखा र नाक सुन्निने, रातो हुने वा दुख्नेलगायतका लक्षण देखिने जानकारी दिनुभयो । उहाँले यो रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरूमा देखिने भन्दै रोग लाग्नै नदिनेतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।

मधुमेह रोग भएका व्यक्ति तथा एन्टिबायोटिक र स्टेरोइड औषधिको लामो समयसम्म प्रयोग गर्नेहरू कालो ढुसीको सिकार हुने भएकाले चिकित्सकको सल्लाहबिना एन्टिबायोटिक तथा स्टेरोइडजस्ता औषधि सेवन नगर्न उहाँले आग्रह गर्नुभयो । डा. पौडेलले कालो ढुसीको सङ्क्रमणबाट बच्न सफा र सुक्खा मास्क प्रयोग गर्ने, डिस्पोजेबल मास्क पुनः प्रयोग नगर्ने, नियमित रूपमा हात धुने, धेरै धुलो भएको स्थानमा नजाने, ओसिलो ठाउँमा पनि रोगको सङ्क्रमण हुने भएकाले ओसिलो ठाउँमा नजान आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *