दुर्गमका कोभिड अस्पतालमा आईसियु र भेन्टिलेसन सञ्चालनमा आएनन् ।

कालीकोट सदरमुकाम मान्ममा सञ्चालन गरिएको कोभिड–१९ विशेष अस्पतालमा स्थापना गरिएका सघन उपचार कक्ष (आइसियु) र भेन्टिलेटर प्रयोगविहीन भएका छन् । दक्ष जनशक्तिको अभावमा सघन उपचार कक्ष (आइसियु) र भेन्टिलेटर प्रयोगविहीन भएका हुन् ।

कोरोना महामारीको पहिलो चरण गत आर्थिक वर्षको भदौ महिनामा स्थापना गरिएको सघन उपचार कक्ष र भेन्टिलेटर चलाउन सक्ने दक्ष जनशक्ति नभएका कारणले सञ्चालनमा आउन सकेका छैनन् । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा स्थापना गरिएका दुई सघन उपचार कक्ष र एक भेन्टिलेटर सञ्चालन हुन सकेका छैनन् ।

जिल्लामा नै सघन उपचार कक्ष र भेन्टिलेटर भए पनि कोरोनाका जटिल बिरामीलाई जिल्ला बाहिर सिफारिस गर्नुपर्ने बाध्यता रहेको जिल्ला जनस्वास्थ्य सेवा कार्यालयले जनाएको छ । आइसियु कक्ष नियमितरुपमा सञ्चालन गर्नका लागि कम्तीमा एक÷एक इन्टरनल मेडिसिन र बेहोस बनाउने चिकित्सक (एनएस्थिसियोलोजिस्ट) आवश्यक पर्ने भए पनि सो जनशक्ति नहुँदा सञ्चालनमा आउन नसकेको जिल्ला जनस्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख कटकबहादुर महतले बताए ।


जिल्लामा विद्युत्को नियमित आपूर्ति नहुँदा पनि सघन उपचार कक्ष र भेन्टिलेटर सञ्चालनमा समस्या भएको निमित्त प्रमुख महतले जानकारी दिए । “सघन उपचार कक्ष र भेन्टिलेटर सञ्चालनमा ल्याउन केही समय अझै लाग्ने देखिएको छ”, उनले भने, “जनशक्तिको व्यवस्थापनसँगै विद्युत्को वैकल्पिक माध्यम खोजेर सञ्चालनमा ल्याउने छौँ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *