मेरो आईसोलेसन अनुभव , यो कुरा पढ्नुहोस् उपयोगि  छ ।

लाई मैले केवल एक मामली ज्वरो ठानेँ। किनकि, यसअघि पनि यस्तै प्रकारको ज्वरो आउँथ्यो। जुन सामान्य हुन्थ्यो। यस्तो सोच्ने म मात्र होईन, सायद सबै त्यस्तै सोच्छन् होला।


सामान्य ज्वरो ठानेर सुरूमा मैले घरमै त बसैको हो नि, भन्दै  मास्क, स्यानीटाईजरलगायतका स्वास्थ्य सामाग्री प्रयोग गरिनँ। अचेल स्कुल पनि जानु पर्दैन न त खेल्न बाहिरै जानुपर्छ। सायद यहीँ सोचेर मैले उतिसारो सावुन पानीले हात पनि धोइनँ।
एक्कासी घाँटीमा कफ जमेको जस्तो भयो। यस्तो त पहिला पनि हुन्थ्यो, त्यसैले खासै वास्ता गरिनँ। डाक्टरसँग पनि सोधपुछ गरेनौं। ‘कहिलेकाहीँ रूघा, खोकी लाग्छ, आत्तिन हुँदैन,’ आमाले यसो भनेपछि मलाई डराउनुपर्छ जस्तो केही लागेन।

विस्तारै ज्वरो बढ्दै गयो। अँ, त्यस्तै १००.५ डिग्री जति आएको थियो। शरीर तातो थियो मेरो। अलि अलि टाउको पनि दुख्थ्यो। शरीर गलेको जस्तो लाग्ने, काम भने केही गरेको थिइनँ। आमाले डाक्टरसँग कुरा गर्नुभयो। त्यसपछि मलाई अरू सबैभन्दा फरक ठाउँमा राखियो। दिनमा ४/५ पटक औषधि खानुपर्ने भयो। थरी थरीका औषधी थिए, जसमा जिङ्क, पारासिटामोल र केही भिटामीनहरू थिए। कुनै तिता कुनै गुलिया। यस्तो बेलामा चिसो खानेकुरा चाहीँ खानै नमिल्ने रहेछ।

१३/१४ दिनसम्म यसरीनै म एक्लै कोठामा बसेँ। त्यतिबेला मेरो स्कुलको परीक्षा पनि चलिरहेको थियो। परीक्षा अनलाईन माध्यमबाटै दिनुपर्ने थियो। यसको लागि मसँग ल्यापटप थियो। परीक्षापछि ल्यापटपमा फिल्म, कार्टुनहरू हेरेँ। अँ, टिकटक पनि खुब हेरेँ। कति त म आफैंले बनाएँ।मेरो एउटा अर्को सोख छ-एक्लै हुँदा चित्र कोर्ने। चित्र बनाउन मलाई मन भित्रबाट औधी खुशी लाग्छ। म धेरै खाले चित्र बनाउँछु। स्कुलमा पनि मैले चित्र बनाएर गुरूआमाको मन धेरै पटक जितिसकेको छु, मेरा चित्रको फोटो कलेक्सन मेरी आमासँग सुरक्षित छ।  यस्तो देख्दा मलाई खुशी लाग्छ।

मैले आइसोलेसनमा बस्दा खुब चित्र बनाएँ। बिहान बनाउने चित्र र बेलुका बनाउने चित्र फरक-फरक हुन्थे। यसो गरिरहँदा कति दिन चाल नै नपाउने गरी बिते। चित्र बनाउन ह्वाईटवोर्डको खुब प्रयोग गरेँ। ह्वाईट वोर्डमा मार्करले कोरेर चित्र बनाउँदा आफूलाई आफू निकैनै ठूलो मान्छे भएको जस्तो लाग्दोरहेछ। जस्तै स्कुलका शिक्षक वा शिक्षिका। म कति-कतिबेला यस्तौ सोचेर फुङ्ग हुन्थे मनमनै हाँस्थेँ पनि।

घरमा नै आइसोलेसनमा बस्दा मेरो खाना खाने प्लेट, कचौरा गिलास आदि छुट्टै थिए। छुट्टै भन्नाले मैले खाने भाडामा अरूले खादैन थिए। म सँगै भाडाहरू पनि आईसोलेसनमा थिए। सम्झिँदा रमाईलो लाग्छ, किनकि ती थाल कचौरालाई आफू आईसोलेट भएको कुरानै थाहा छैन। नत तिनलाई कोरोना भन्ने रोग छ भन्ने नै थाह होला, तैपनि तिनले मसँगै आईसोलेट हुनु परेको थियो।
म भित्र त्यसरी बसिरहँदा मेरा भाइहरू भने लिभिङ रूममा बसेर लुडो र क्यारेमबोर्ड हल्ला गर्दै खेलिरहन्छे। मलाई पनि उनीहरूसँग खेल्न मन नभएको होईन धेरै मन लाग्थ्यो। तर उनीहरूलाई कोरोना नसरोस् भनेर खेल्ने जिद्धि कहिलै गरिनँ। यतिसम्म ज्ञानी चाँही म छु नै सायद।

आइसोलेट भएको १४ दिन पछि म रूमबाट बाहिर निस्कीएँ। नुहाएँ। सफा लुगा लगाएँ। आफैंलाई फरक अनुभव भयो। म अहिले पहिला जस्तै सामान्य भएकी छु। ज्वरो, खोकी पनि छैन। जीउ पनि दुखेको छैन। भाइहरूसँग पनि खेल्न पाईरहेकै छु। तर अझै पनि म भाइहरूसँग बस्दा मास्क लगाउन भुल्दिनँ।
रोगसँग लड्न औषधिभन्दा पनि महत्वपूर्ण कुरा रोगसँग लड्ने क्षमता रहेछ। हामीले सँधै हाम्रा लागि कसरी रोग प्रतिरोधात्मक क्षमता बढाउन सक्छौं भनेर आफ्नो शरीरलाई खानपिन, शारीरिक व्यायाम र सरसफाईमा ध्यान दियौं भने भविश्यमा जस्ता महामारी आए पनि जुध्न सकिन्छ।

यो आइसोलेसनबाट मैले यही कुरा सिकेकी छु। अचेल विश्वभरी कोरोनाको प्रकोप छ, टिभीमा, समाचारमा यहीँ सुनिरहेको हुन्छौं। यस्तो बेलामा रोग लागिहाल्यो भने पनि एक्लै बस्नुपर्छ भनेर डराउनु हुँदैन। किनकि, एक्लै बस्दाखेरि नै अरूलाई सर्दैन। अनि आइसोलेसन हुँदा मैले गरे जस्तै विभिन्न क्रियाकलाप गरेर दिन बिताउन सकिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *