ह्वात्तै घट्यो कुखुराको मूल्य, कुखुरा बिक्ने छाडे !

बागलुङ नगरपालिका–३ का कुखुरापालक किसान देवेन्द्र पुनकामा रहेका ३०० ब्रोइलर कुखुराले ६० दिन नाघे । तौल बढेर चार किलो बढीका भइसके । पहिला ४०–४५ दिनमै कुखुरा बेच्नुपथ्र्यो । अहिले कुखुरा खोरमै थन्किएका छन् ।

महङ्गो दाना खुवाएर पाल्नुपर्ने स्थिति छ । पुनको खर्च बढेको बढ्यै छ । निषेधाज्ञाका कारण कुखुरा बिकेका छैनन् । बजार, व्यवसाय ठप्प छ । मासुको खपत घटेको छ । यही बेला मूल्यमा पनि गिरावट आएको छ । ‘ज्यूँदो कुखुराको मूल्य प्रतिकिलो रु ३२० बाट रु २३० मा झरेको छ’, पुनले भने ।

निषेधाज्ञाअघि रु ५०० बढी पुगेको मासुको भाउ पनि घटेर अहिले ४४० भएको छ । ‘कुखुरा पालनमा खर्च धेरै छ, यसपालि लागत पनि नउठ्ने भयो, किसानलाई उल्टो घाटा छ’, पुनले भने, ‘कहिले स्थिति सहज हुन्छ भन्ने पनि कुनै टुङ्गो छैन ।’ मासु धेरै खपत हुने होटल, रेष्टुराँ नै अहिले बन्द छन् । फाटफुट्टरूपमा घरायसी प्रयोजनका लागि मात्र मासुको बिक्री भइरहेको छ । कतिपय व्यवसायी मासु पसल पनि बन्द गरेर बसेका छन् । खाद्यान्न, तरकारी, माछा, मासुलगायत दैनिक उपभोग्य सामग्री खरिदका लागि बिहान १०ः०० बजेसम्म मात्र बजार खुल्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *