प्रदेश-१ मा फिल्डमा खटिने प्रहरीलाई छैन खोप पहुँचवालालाई मात्र किन्!

पहुँचका आधारमा खोप वितरण भइरहँदा मोरङमा कार्यरत चार सय ९६ प्रहरीले खोपको पहिलो डोज पनि पाएका छैनन् । कोभिसिल्डको पहिलो डोज लगाएका दुई सय १० जना प्रहरी कर्मचारी दोस्रो डोजको पर्खाइमा छन् ।

मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार जिल्लामा एक हजार दुई सय ६० जना प्रहरी कार्यरत छन् । त्यसबाहेक प्रदेश र गणबाट दैनिक एक भन्दा बढी प्रहरी निषेधाज्ञा कार्यान्वयनमा खटिएका छन् ।

खड्काका अनुसार जिल्लामा रहेकामध्ये पाँच सय ५२ जनाले मात्रै दुवै डोज लगाएका छन् ।

कोरोना महामारी नियन्त्रणमा खटिँदा दोस्रो लहरमा ४१ जना प्रहरीलाई संक्रमण देखिएको छ । तीमध्ये एक जना प्रहरी हवल्दारको मृत्यु भएको छ ।

‘नाका सुरक्षादेखि निषेधाज्ञा कार्यान्यनमा प्रहरी खटिएको छ,’ एसपी खड्काले भने, ‘सबै खालका मानिससँग एक्पोज हुनुपर्छ, खोप नलगाएका कारण संक्रमणको जोखिम उच्च छ ।’

मन्त्री भन्छिन् : प्रपोगाण्डा भयो

सामाजिक विकास मन्त्री उषाकला राईले आफ्नो निवासमा खोप लगाइएको तर धेरै मानिस आएपछि तुरुन्तै बन्द गरेको बताइन् । ‘खोपका विषयमा विपक्षी दलबाट पनि फोन गर्नुभयो, सभामुखको मेडमले पनि लगाउन बाँकी रहेको, अब उहाँहरुलाई कहाँ पठाउने, म लगाएको बेलामा लगाइदिन्छु भनेको हुँ, त्यसै प्रपोगान्डा भइहाल्यो,’ उनले भनिन् ।

मन्त्री राईले सिटी हलमा व्यवसायीले लगाएको खोपबारे भने अनभिज्ञता प्रकट गरिन् । ‘म अक्सिजनको समस्या सामधान गर्न तर्फ लागेको थिए, पछि समाचारमा आएपछि मात्रै थाहा पाएँ,’ उनले भनिन्, ‘तुरुन्तै स्वास्थ्य कार्यालयका प्रमुखलाई बोलाएर सोधे, खोप लगाउनेहरुको नामावली मगाएँ, गलत भेटिए कारवाही हुन्छ ।’

मन्त्री राईले खोप अभाव भएपछि प्रदेश सरकारकै पहलमा बेलायतबाट खोप मगाउने गृहकार्य भइरहेको बताइन् । खोप मगाउने विषयमा मुख्यमन्त्री शेरधन राईसँग आफूले सल्लाह गरेको बताउँदै उनले बेलायतमा रहेका गैर आवशीय नेपाली( एनआरएन) मार्फत खोप खरिदको गृहकार्य भएको बताइन् ।

‘केन्द्र सरकारले ल्याउने खोप अलिक ढिलो होला,’ उनले भनिन्,‘ मुख्यमन्त्रीज्यूसँग सल्लाहपछि बेलायतबाट ल्याउन छलफल गर्दैछौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *