कोरोनालई आत्मविश्वासका साथ नै जित्न पर्दछ।

वैशाख अन्तिम साता र जेठ पहिलो साता भने दैनिकजसो हेलिकप्टर आएर कोरोना र अन्य शङ्कास्पद बिरामी पोखरा तथा काठमाडाँै लैजाने गरेको थियो ।हेलिकप्टरका लागि स्थानीयवासीले रु चार लाखसम्म खर्च पनि गरे । बागलुङ अस्पतालमा उपचारपछि निको हुन्छ भन्ने विश्वास नभएपछि उनीहरुले शहरी क्षेत्रमा लगेका हुन् । हेलिकप्टरमा पठाइएका बिरामी अधिकांश फर्कन सकेका छैनन् । कतिपयको उतै निधन भयो । कतिपय अझै निको भएका छैनन् ।

कोरोना सङ्क्रमणले देश आक्रान्त पारेका बेला राम्रो उपचार खोज्दै हिँड्दा कतिपयले बाटैमा ज्यान गुमाएका छन् । बरु नजिकका अस्पतालमा बसेर उपचार गरेका फर्कन सफल छन् । “हाइफ्लो अक्सिजन र भेन्टिलेटरका सेवा खोज्दै सहर पसे पनि राम्रो उपचार अहिले देशैभरि छैन”, धौलागिरि अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र पोखरेलले भन्नुभयो, “दक्ष चिकित्सक आफैँ खटिएर सेवा दिएमा अन्यत्र गइरहनु पर्दैन ।”

अस्पतालमा अहिले पनि कन्सल्ट्यान्ट डाक्टर नै कोरोना उपचारमा नियमित खटिएका छन् । आइसोलेशनमा दक्ष नर्स र स्वास्थ्यकर्मी पनि निरन्तर लागेकाले निको हुनेक्रम पनि यहाँ बढी छ । जिल्ला स्वास्थ्य कार्यालयका कोभिड स्थानीय स्रोत व्यक्ति देवप्रकाश घिमिरेका अनुसार सङ्क्रमितले आत्मबल बलियो बनाउने, नियमित खाना खाने हो भने धेरै निको हुन्छन् । परिवार र स्वास्थ्यकर्मीको साथ भएका छिट्टै निको भएर फर्केको उनले बताए ।

“काठमाडौँमा भर्ना नपाएका बागलुङ आएर निको भएका छन्, शहरी क्षेत्र मात्र भनेर हुँदैन”, घिमिरेले भन्नुभयो, “सामान्य अवस्थामा शहरी क्षेत्रका अस्पताल राम्रो होलान, महामारीमा शहरी क्षेत्रमा चासो कम हुन्छ ।” ठूला अस्पतालमा एक दुई जनाको ज्यान जानुलाई सामान्य मानिने तर जिल्ला तहमा मृ-त्यु नहोस् भनेर काम भएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *