आर्दश तिम्रो बुबा मेरी आमा जस्तै भाग्यमानि भएको भए पढ्नु होस एक मन छुने घटना ….

दुई वर्षअघि मेरी आमा बिरामी पर्नुभयो बर्दियामा र उपचारका लागि नेपालगञ्ज ल्याइयो । नेपालगञ्जको एक प्राइभेट हस्पिटलमा एक डाक्टरले औषधि लेखिदिए र घर लैजाऊ औषधि खाएर ठीक हुन्छ भन्ने सल्लाह दिए ।

मेरो घर नेपालगञ्ज भएकाले मेरा श्रीमान्ले उहाँलाई आराम गर्न घर लैजानुभयो । आमा अघिदेखि नै सुन्निइराख्नुभएको थियो । उहाँलाई बान्ता भइरहेको थियो । डाक्टरले रिपोर्ट हेरेर नै औषधि चलाए पनि उनले क्रिटिनिन बढ्नु भनेको मिर्गाैला बिग्रँदै गएको संकेत हो भन्ने पढेका रहेनछन् । मेरा श्रीमान्ले अर्का चिनेजानेका डाक्टरलाई उहाँको रिपोर्ट देखाउनुभयो । रिपोर्ट र लेखिएको औषधि हेरेर डाक्टर तर्सिए र अविलम्ब लखनऊ वा काठमाडौं लैजान सल्लाह दिए ।

उता काठमाडौं ल्याउने तयारी भयो म यता काठमाडौंमा रहेकाले यहाँ रहेका मिर्गौला सम्बन्धी विशेषज्ञ र अस्पतालको खोजी गर्न थालें । साथसाथै केही चिनेका डाक्टरहरूलाई पनि रिपोर्ट पठाएँ र धेरैको अनुमान आमाको मिर्गौलाले काम गर्न छाडिसकेको भन्ने थियो ।

धेरैको सल्लाह र सुझाव अनुसार सस्तो साथै अनुभवी डाक्टरहरू रहेको टिचिङ हस्पिटल महाराजगञ्ज लगियो । आमाको अवस्था निकै नाजुक भइसकेको थियो । इमर्जेन्सीका डाक्टरले आमालाई यस्तो क्रिटिकल अवस्थामा मात्र अस्पताल ल्याएको भनेर अलिक झर्किनुभयो । उहाँको झर्काइ स्वाभाविक पनि थियो । आमालाई रेडजोनमा राखेर उपचार शुरू गरियो । म धेरै आत्तिएकी थिएँ, साथमा भाउजू र ज्वाईं पनि ।

आमालाई आईसीयूमा राख्नुपर्ने भयो तर आईसीयूमा बेड खाली नभएकोले अन्तै जानुपर्ने डाक्टरले सल्लाह दिनुभयो । त्यतिबेला रातको १ वा २ बजेको हुँदो हो, म निकै आत्तिएँ । भाग्यवश एउटा नर्सको सहयोगमा आईसीयूमा बेड भेटियो ।

अब डाक्टरहरूले आमाको मेडिकल हिस्ट्री र खाँदै आएको औषधिबारे सोध्नुभयो । हामीले देखाएका कागजात र रिपोर्ट अनुसार चलाइएका औषधिहरू देखेर डाक्टरहरू अचम्भित हुन्थे र आमालाई बचाउने सम्भावना एकदमै कम भए पनि डाक्टरहरूले प्रयास जारी राखेकोे कुरा बताउँथे । हरेक दिन आईसीयूबाट मृतकका लासहरू बाहिर निस्कन्थे अनि म झन् अत्तालिन्थें र ईश्वरलाई प्रार्थना गर्थें कि मेरो आमालाई केही नहोस् ।

जाँच गरेको प्रारम्भिक रिपोर्ट आइसक्दा थाहा भयो कि आमाको दुवै मिर्गौलाले काम गर्न छाडेको र निमोनिया भएको पत्ता लाग्यो । केही दिनको उपचारपछि आमाको स्वास्थ्यमा केही सुधार आउन थाल्यो र डाक्टरले आईसीयूबाट वार्डमा सार्न सकिने र डायलासिस शुरू गर्नुपर्ने बताए । तर सबै डायलासिस मेसिनहरू प्याक थिए । केही दिनपछि डायलासिस शुरू गरियो ।

आमालाई वार्डबाट डायलासिस कक्षमा लैजाँदा बिरामीका आफन्तका कथाहरू कतिका निकै दर्दनाक अनि कतिका निकै सुखद सुनिन्थे । डायलासिसको धेरैजसो मूल्य सरकारले तिर्ने र केही मात्र रु.६१० बिरामीले तिर्नुपर्ने हुँदा सबै बिरामी र आफन्तलाई ठूलो राहतको महसूस हुन्थ्यो । डायलासिस गर्दै जाँदा आमा निकै कमजोर तर डाक्टरको सल्लाह अनुसार खानेकुरा खाँदा केही राहत महसूस गर्नुहुन्थ्यो ।

आठौं डायलासिस पछि आमाको घाँटीमा लगाएको पाइप निकालियो र अब डायलासिस गर्नु नपर्ने कुरा डाक्टरले बताउनुभयो । हामी निकै खुशी भयौं । डाक्टर र नर्स देख्यो कि भगवान जस्तै लाग्ने अनि अन्य कर्मचारीहरूप्रति पनि उत्तिकै सम्मान जाग्ने ।

३६ दिनको अस्पताल बसाइपछि आमालाई डिस्चार्ज गरियो । केही महीना आमा काठमाडौं मसँगै बस्नुभयो र निको भएर घर जानुभयो ।

हरेक दिन उपचार नपाएर मानिसहरूको मृत्यु भएको समाचार पढ्दा मेरा मनमा अनेक प्रश्नहरू आउँछन् । टिचिङ हस्पिटल नभएको भए, काठमाडौंसम्म लैजाने हाम्रो क्षमता नभएको भए, पहिले डाक्टरले भनेझैं घरमा बसेर औषधि खाएको भए, अनि दुईचार जनालाई सोध्ने ज्ञान नभएको भए शायद आम नेपाली जस्तै मेरी आमालाई पनि के हुन्थ्यो होला ?

टिचिङ हस्पिटलले डायलासिसको मेसिन बिग्रेको छ भनेको भए, अनि डायलासिसको समय घटाइएको भए हाम्रो परिवारमा पनि आदर्शको जस्तै बज्रपात हुन्थ्यो होला ।

मलाई टिचिङ हस्पिटलको नामले मात्र पनि गर्वको महसूस भएर आउँछ । अहिले पनि हामी बिरामी हुँदा प्रायः त्यहीं जान्छौं । तर मेरी आमालाई नियमित डायलासिस गर्नुपर्ने र बर्दिया बस्नुपर्ने भएको भए के हुन्थ्यो होला ?

के सुविधा काठमाडौंमा मात्र आवश्यक छ ? के काठमाडौं बाहिर सुविधासम्पन्न गुणस्तरीय सेवा दिने अस्पतालहरू स्थापना गर्न सकिंदैन ? आदर्श जस्ता भाइहरूका बुवाले त उपचार नपाएर ज्यान गुमाउनुपर्छ भने त्यस्ता कति अनगिन्ती मृत्युहरू छन् होला जुन हाम्रो स्वास्थ्यको तथ्यांकमा अटाएका छैनन् ।

आज निकै दुःखी छु आदर्श भाइ, मुटु भक्कानिएको छ । तर तिमी हामी मिलेर देशमा परिवर्तन ल्याउनु नै पर्छ र तिम्रो बुवाको आशिष लाग्ने छ । जुन दिन नेपालमा अस्पताल नजानु पर्ने निरोगी मात्र होइन बिरामीहरूले पनि बाँच्ने अधिकार पाउनेछन् । आज सोच्दैछु, तिम्रो बुवा मेरी आमा जस्तै भाग्यमानी भइदिएको भए आज यो दुःखको खबर सुन्नुपर्ने थिएन । आज तिमी मात्रै होइन हजारौ छोराले बुबा गुमाउनु पर्न थिएन , आमा घुमाउनु पर्न थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *