पहिलो पटक ११ देशमा आयोजना हुने युरोपकपमा किन धेरै देश आयोजक ?

युरोकपको सुरुवात सन् १९६० मा भएको थियो । त्यसबाट हरेक ४-४ वर्ष युरोकप आयोजना हुँदै आएको छ । त्यसबाट २०२० सम्म आइपुग्दा युरोकपको इतिहास ६० वर्ष पुगेको छ । यसै अवसरलाई मनाउन युरोकप धेरै देशमा आयोजना गर्ने निर्णय भएको हो ।

युक्रेनको किभमा सन् २०१२ को युरोकप फाइनल अघि तत्कालीन युईएफए अध्यक्ष मिचेल प्लाटिनीले २०२० को युरोकप एक वा जोइन्ट होस्ट भन्दा १२ वा १३ देशमा आयोजनाका लागि प्रस्ताव गरे ।युरो सुरु भएको ६० वर्ष पुगेको अवसरमा तत्कालीन युईएफए अध्यक्ष प्लाटनीले आयरल्याण्डको डब्लिनदेखि अजरवैजानको बाकुसम्म युरोकप आयोजना गर्ने प्रस्ताव गरेका थिए । त्यसै वर्ष डिसेम्बरमा युईएफएले २०२० को युरो धेरै देशमा आयोजना गर्ने निर्णय गरेको हो ।

युईएफले सन् २०१४ मा १३ राष्ट्रमा युरोकप आयोजना गर्ने घोषणा गरेको थियो । तर बेल्जियमको ब्रसेल्समा रहेको युरोस्टेडियम निर्माणमा ढिलाइ भएकोले २०१७ मा हटाइयो । त्यसपछि १२ राष्ट्र आयोजकको रुपमा थिए । तर आयरल्याण्डको डब्लिनमा दर्शक उपस्थित हुने ग्यारेन्टी नभएकोले २०२१ को अप्रिलमा अटाइएको हो । स्पेनको पनि आयोजना स्थल पनि विल्वाओबाट सेभियामा सारिएको छ ।

यो निर्णयपछि युरोपको ११ देशको विभिन्न ११ शहरमा युरो २०२० का खेलहरु आयोजना हुनेछ । जसमध्ये सबैभन्दा धेरै दर्शक क्षमता रहेको लण्डनस्थित वेम्बली स्टेडियममा सेमिफाइनल र फाइनल खेल हुनेछ ।उद्घाटन खेल समूह ए मा रहेका टर्की र इटलीबीच इटलीको रोमस्थित स्टाडिओ ओलम्पियामा खेलाइनेछ ।यस पटक आफ्नै देशको होस्ट सिटी भए पनि त्यो राष्ट्रले युरोकपमा सिधै छनोट हुने व्यवस्था भने थिएन । सबै टिमले छनोट चरण पार गरेर मात्र युरोकपमा स्थान बनाएका हुन् ।

यस पटक युरोकपमा उत्कृष्ट २४ टिमले प्रतिस्पर्धा गर्नेछन् । २०१६ मा फ्रान्समा भएको युरोदेखि २४ टिमले प्रतिस्पर्धा गर्न थालेका हुन् । पोर्चुगल युरोकपको साविक विजेता हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *