आँखा बिगार्ने कालो ढुसी नेपालमै देखियो, यसबाट जोगिन यस्तो गर्नुहोस ।

कोभिड-१९ भएका बिरामीमा आँखा बिगार्ने म्यूकोर्माइकोसिस अर्थात् एक प्रकारको खतरनाक ढुसीको सङ्क्रमण नेपालमा पनि फाट्टफुट्ट देखा परेको स्वास्थ्य अधिकारीहरूले पुष्टि गरेका छन्।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिहीवार बीबीसीसित भने, “नेपालमा पनि फाट्टफुट्ट देखिएको छ। अहिलेसम्म हामीकहाँ तीन-चारवटा रिपोर्ट आएको छ।”

उनका अनुसार काठमाण्डू र सीमावर्ती सहर वीरगन्जका बिरामीमा त्यो समस्या देखिएको पुष्टि भएको छ।भारतका विभिन्न सहरका कोभिड बिरामीमा त्यो विरल सङ्क्रमण देखिएको पाइएको र कतिपयले आँखा नै गुमाएको विवरण एक साताअघि आएको थियो।

कालो ढुसी पनि भनिने म्यूकोर हाम्रो वातावरणमा प्राकृतिक रूपमै पाइने एक प्रकारको ढुसी हो जसको सङ्क्रमणबाट म्यूकोर्माइकोसिस हुन्छ।रेटिना विशेषज्ञ डा. नीतिन तुल्स्यान भन्छन्, “म्यूकोर माटो, धूलोका कण, हावा र शरीरका सतहमा पनि हुन्छ। यो एउटा स्पोरको रूपमा हुन्छ।”

नाङ्गो आँखाले देख्न नसकिने ससाना बाटुलो आकारको स्पोरले निश्चित शारीरिक अवस्थामा आक्रमण गरेपछि म्यूकर्माइकोसिस हुने उनी बताउँछन्।फ्यामिली फिजिशन तथा आकस्मिक रोग विशेषज्ञ डा. उदयनारायण सिंहका अनुसार मानिसको शरीरमा रोगप्रतिरोधी क्षमता एकदम कमजोर भएको बेला यो सङ्क्रमण हुन्छ।

“म्यूकोर्माइकोसिसले विशेषगरी हाम्रा आँखा, नाक, फोक्सो र साइनसमा असर गर्छ। कहिलेकाहीँ यसले हाम्रो दिमागमा पनि जटिलता निम्त्याउँछ,” उनले थपे।रेटिना विशेषज्ञ डा. तुल्स्यानका अनुसार म्यूकोर्माइकोसिसका कारण आँखा नै गुमाउनुपर्ने अवस्था निम्तिन सक्छ।

“यदि समयमै यसको उपचार गराइएन भने दृष्टि गुम्ने मात्रै होइन आँखा नै झिकेर फाल्नुपर्ने अवस्था आउन सक्छ,” उनी सजग गराउँछन्।“यो कालो ढुसीले हाम्रो आँखा भएको खोपिल्टोलाई सङ्क्रमित गर्छ। आँखाभित्र त्यसले मासुको जस्तो काम गर्छ जसका कारण हाम्रो आँखा नै बाहिर आइदिन्छन् र काटेर फाल्नुपर्ने हुन्छ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *