कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट मंगलबार एकैदिनमा ८ जनाको मृत्यु भएको छ । मोरङ, काभ्रे, कास्की, तनहुँ, चितवन, नवलपरासी, बाँके र बर्दियामा १/१ जनाको मृत्यु भएको हो ।
मिर्गौलाको समस्याका कारण श्वासप्रश्वासमा समस्या देखिएको उपचारमा संलग्न डा.अर्जुनबहादुर बुढाले बताए । ‘प्रेसर र मिर्गौलाको समस्याले श्वासप्रश्वासमा समस्या रहेछ । पहिले उच्च ज्वरो पनि आएको रहेछ,’ डा. बुढाले भने, ‘हामीले इमर्जेन्सी विभागमै उपचार गरिरहेका थियौं । पछिमात्र कोरोना पुष्टि भयो ।’
यस्तै नवलपरासी पश्चिमका ३८ वर्षीय पुरुषको उपचारका क्रममा मंगलबार विहान पाटन अस्पतालमा मृत्यु भएको छ ।उनी नवलपरासी कांग्रेस उपसभापति सुवासचन्द्र गिरी हुन् । कोरोना संक्रमण देखिएपछि बुटवलको कोरोना अस्पतालबाट साउन ३० गते पाटन अस्पतालमा रेफर गरिएका गिरीको भेन्टिलेटरको सहायतामा उपचार भइरहेकामा गएराति ११ बजेदेखि श्वासप्रश्वासमा समस्या आएको र बिहान ६ बजेतिर मृत्यु भएको अस्पतालमै रहेका कांग्रेस सांसद देवेन्द्रराज कंडेलले जानकारी दिए ।
यसैगरी चितवनको खैरहनी नगरपालिका-३ की १०९ वर्षकी वृद्धाको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । वृद्धाको गएराति पौने एक बजे नै मृत्यु भएको र मंगलबार दिउँसो रिपोर्ट पोजेटिभ आएको उनका परिवारका सदस्य कमल पाठकले जानकारी दिए ।
बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–५ का ६२ वर्षका पुरुषको नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा मंगलबार मृत्यु भएको छ । साउन ३२ गते अस्पताल भर्ना भएका उनको सोमबार पीसीआर परीक्षणको रिपोर्ट आउँदा कोरोना संक्रमण देखिएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।
यस्तै बर्दियाको मधुवन नगरपालिका–९ का ७८ वर्षीय पुरुषको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मंगलबार विहान साढे १ बजे मृत्यु भएपछि घर ल्याएर दाहसंस्कार गरिसकेपछि मंगलबार दिउँसो कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।
बबई नदीको कुसुम्बा घाटमा दाहसंस्कार हुँदा मलामी गएका सबैलाई क्वारेन्टिनमा राख्ने र सङ्क्रमितको बस्ती पनि सिल गर्ने तयारी भएको मधुवन नगरपालिकाका प्रमुख गणेशबहादुर क्षेत्रीले बताए । सङ्क्रमित पुरुष निमोनिया भएपछि सोमबार नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका थिए
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११७ पुगेको छ । मंगलबार मृत्यु भएको चितवनकी वृद्धा, बर्दियाका वृद्ध र मोरङकी ६५ वर्षीया महिलाको तथ्यांक भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वेबसाइटमा अपडेट गर्न बाँकी छ ।
एकै दिन १०१६ जनामा संक्रमण पुष्टि
यस्तै पछिल्लो २४ घण्टामा १०१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा ९ माघ, २०७६ मा कोरोना संक्रमण भेटिएपछि एकैदिनमा पहिचान भएको यो सबैभन्दा धेरै संक्रमित हो ।
यससँगै कोरोना संक्रमितको संख्या २८ हजार २५७ पुगेको छ । उनीहरुमध्ये १७ हजार ५८० जना निको भएका छन् । १० हजार ५६३ जना सक्रिय संकमित आइसोलेसनमा छन् । उनीहरुमध्ये ११८ जना आईसीयूमा छन् भने ६ जना भेल्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।्
कहाँ कति थपिए संक्रमित ?
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र २०५ जना संक्रमित थपिएका छन् । उनीहरुमध्ये काठमाडौंका १३८, ललितपुरका ५० र भक्तपुरका १७ जना छन् ।
यस्तै पर्सामा १२८ जना, मोरङमा १०८, सर्लाहीमा १०७, धनुषामा ६४, चितवनमा ४९, डोटीमा ४६, बारामा ४२, रौतहटमा ३७, मकवानपुरमा ३०, महोत्तरीमा २४, झापा र काभ्रेमा २१/२१ जना, कपिवलस्तुमा १९, सिराहा र कास्कीमा १६/१६ जना र रुपन्देहीमा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बर्दियाका ९ जना, सुनसरीका ८, बाँकेका ६, दैलेखका ५, नवलपुरका ४, संखुवासभा, सप्तरी, सिन्धुपाल्चोक र बाग्लुङका ३/३ जना, उदयपुर, धादिङ, दोलखा, गोरखा, तनहुँ र दार्चुलाका २/२ जना तथा खोटाङ, ओखलढुंगा, पाँचथर, सिन्धुली, लमजुङ, स्याङ्जा, दाङ, नवलपरासी, रोल्पा, रुकुम पश्चिम, सुर्खेत, कैलाली र कञ्चनपुरका १/१ जनामा पनि संक्रमण पुष्टि भएको छ ।