कुलमान घिसिङ : एक आभा, एक आशा

Spread the love

निस्वार्थ अनि निर्भिक, दृढ अनि तिक्ष्ण, तिब्र अनि गतिशिल । यी तमाम उर्जा–तत्वको एकढिक्का पुञ्जले धपक्कै बलेको त्यो अनुहार । न दम्भ, न अहंकार । शालिन, सौम्य र सरल । अर्थात कुलमान घिसिङ ।

आफ्नै कर्म, लगाव र सर्मपणले श्रेष्ठ बनायो, उनलाई । आज तीन करोड नेपालीको स्पन्दनमा उनको जीवन–संगीतको धुन बज्छ । कुलमान घिसिङले कसरी आर्जन गरे यतिविध्न प्रेम र श्रद्धा ?

कुनै प्रतियोगिता जितेर यस्तो श्रेष्ठता हासिल गरेका होइनन् । मनग्ये दान–दक्षिणा दिएर यस्तो यश कमाएका होइनन् । नेतागिरी गरेर, हिरोइज्म देखाएर, धन–वैभव प्रदर्शन गरेर यस्तो इमान बटुलेका होइनन् । त्यसो भए उनले के गरे ?
उनले त्यस्तो केही गरेनन्, जो उनी अघिका हर्ताकर्ताहरुले गरे । उनले त त्यती मात्र गरे, जो उनको जिम्मेवारी थियो । अर्थात आफ्नो जिम्मेवारीलाई पूर्णताका साथ पुरा गरे ।
श्रीमदभागवत गीतामा एउटा वाक्यांश छ, ‘योगः कर्मशु कौशलम् ।’ जब कामप्रति गहिरो अभिरुची हुन्छ, तब कर्ममा कुशलता प्राप्त हुन्छ । अतः यसका निम्ति कर्ममा एकसाथ मन, बुद्धि र शरीर (क्रिया) तीन वटा कुरा समावेश हुनुपर्छ । कुलमानले यसरी नै आफ्नो कामलाई कुशलतापूर्वक गरे ।
कुलमान आउनुअघि त्यो कुर्सीमा अरु आए, गए । तर, तिनीहरुले कुर्सीको इमान जोगाएनन् । बरु आफ्नो दायित्वबाट विमुख भए । एउटा धूर्त जत्थाको लुकामारीमा भुलेर मुलुकलाई आँध्यारो बनाए । अकुत धन–दौलत थुपारे । त्यही कृत्यको कारण आज उनीहरुको अनुहारको चमक हरयो, जसरी हिजो मुलुकको उज्यालो हराएको थियो । चरम ग्लानी, भय, पछुतो र अपराधबोधले कक्रक्क गले ।

तर, कुलमान घिसिङ ?

उनको अनुहार त ओजपूर्ण र दिव्य छ । सगर्वले चौडा छ छाती । कार्य–कौशलले नृत्यवत् छ शरीरका अवयवहरु ।

लोभ, मोह, भय, कुष्ठा जस्ता विकारबाट मुक्त उनी एक कर्मयोगी हुन् ।

@Onlinekhabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *