बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तलाई न्यायको माग गर्दै प्रधानमन्त्रीलगायत विभिन्न दलका शीर्ष नेताको प्रोफाइल पिक्चरमा युवाहरूले कमेन्ट गर्न थालेका छन्।
आइतबार बिहानदेखि प्रधानमन्त्री केपी शर्मा ओलीलगायत शीर्ष नेताका प्रोफाइल पिक्चरमा ‘जस्टिस फर निर्मला’ भन्दै कमेन्ट गर्न थालिएको हो।
यो ट्रेन्ड पहिलो पटक प्रधानमन्त्री ओलीले सन् २०१६मा राखेको प्रोफाइल पिक्चरमा कमेन्ट गरी सुरू भएको हो। प्रधानमन्त्री ओलीको तस्बिरमा मात्रै दुई लाखभन्दा बढी कमेन्ट भइसकेका छन्। जसमा धेरैजसो निर्मलाकै न्यायका लागि माग गरिएको छ।
त्यसैगरी नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री रामबहादुर थापालगायतका तस्बिरहरूमा पनि त्यसैगरी कमेन्ट गर्न थालिएको छ। नेपाल प्रहरी तथा केही मिडियाका तस्बिरहरूमा समेत त्यसरी कमेन्ट गरिएको छ।