झम्सिखेल भेला : प्रधानमन्त्री ओलीको विपक्षमा ३१ स्थायी कमिटी सदस्य ‘पार्टीको निर्णय मान्छु’ नभने दुबै पदबाट छाड्नुपर्ने निष्कर्ष

Spread the love
झम्सिखेल भेला : प्रधानमन्त्री ओलीको विपक्षमा ३१ स्थायी कमिटी सदस्य 'पार्टीको निर्णय मान्छु' नभने दुबै पदबाट छाड्नुपर्ने निष्कर्ष 1

Photo Credit : फाइल फोटो
१७ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीका ३१ जना नेताहरु केपी शर्मा ओलीको नेतृत्वमा सरकार चल्न सक्दैन भन्ने सामुहिक निश्कर्षमा पुगेका छन् । ४४ सदस्यीय स्थायी कमिटीका अरु पनि नेताहरु यो निश्कर्षमा सहमत हुने ओली इत्तर खेमाको दाबी छ ।

पार्टीका अर्का अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता माधव कुमार नेपालको पहलमा बुधबार बेलुका ललितपुरको झम्सीखेलस्थित एक रेष्टुरेन्टमा स्थायी कमिटीका नेताहरुको भेला आयोजना गरिएको थियो ।

भेलामा सचिवलायका सदस्यसमेत ३० जना स्थायी कमिटीका नेताहरुको उपस्थिति थियो । योगेश भट्टराईले आफू अर्को कार्यक्रममा जानु परेकाले आउन नसकेको भन्दै बैठकको निर्णयमा सहमति जनाएको स्रोतले अनलाइनखबरलाई बतायो ।

बहुमत सदस्यहरुको यो भेलाले अब केपी शर्मा ओलीबाट पार्टी र सरकार दुबै चल्न नसक्ने निश्कर्ष निकालेको बैठकमा सहभागी एक स्थायी कमिटी सदस्यले अनलाइनखअबरलाई बताए ।

तर, जे निर्णय भएता पनि सकेसम्म सहमतिकै आधारमा हुने बताउँदै उनले भने, ‘भोलि बिहान अध्यक्ष प्रचण्डले स्थायी कमिटीका अरु नेताहरुसँग पनि छलफल गर्नुहुन्छ, सर्वसम्मत निर्णय हुने सकेन भने बहुमतको निर्णय सबैले मान्नुपर्छ, केपी ओलीले पनि मान्नुपर्छ ।’

४४ सदस्यीय स्थायी कमिटीका बहुमत नेताहरु केपी ओलीबाट सरकार चल्दैन भन्ने निश्कर्षमा पुगेपछि अब केपी ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुबै पद जोगाउन हम्मे पर्ने देखिएको छ ।

प्रधानमन्त्री ओलीले पार्टीको निर्णय मान्ने तत्परता देखाउनुको साटो उल्टै बुधबार बिहान बालुवाटारमा गुटको बैठक राखेर चुनौती दिएपछि आफूहरु झम्सीखेल बैठक गर्न बाध्य बनेको माधव नेपाल निकट एक नेताले बताए । उनले भने, ‘प्रधानमन्त्री ओलीले बुधबार बिहानै बालुवाटारमा गुटको अलग्गै बैठक गरेर आफूलाई सहयोग गर्न आग्रह गर्नुभएछ, अध्यक्षले नै त्यसरी गुटबन्दी गरेपछि हामी पार्टी एकतालाई जोगाउनका लागि झम्सिखेलमा जुटेका हौं ।’

बैठकमा कोको थिए ?

झम्सीखेल बैठकमा सहभागी ३० नेताहरुको सूची अनलाइनखबरले फेला पारेको छ । बुधबार बिहान केपी ओलीले बोलाएको भेलामा सहभागी भएका पूर्वमाओवादीका नेताहरु गृहमन्त्री रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी र मणि थापा पनि प्रचण्ड-माधव समूहको बैठकमा सहभागी भएका छन् । त्यस्तै अर्का मन्त्री घनश्याम भुसाल पनि झम्सिखेल बैठकमा जुटेका छन् ।

प्रचण्ड-माधव समूहको दाबीअनुसार महासचिव विष्णु पौडेल लगायतका ओली पक्षमा रहेको अरु नेताहरु पनि बहुमतको खेमामा आउने सम्भावना छ । झम्सिखेल बैठकमा सहभागी एक नेताले अनलाइनखअबरसँग भने, सकेसम्म सबै साथीलाई समेटेर सर्वसम्मत निर्णय गरेर जाऔं भन्ने भएको छ, यसका लागि भोलि बिहान प्रचण्डले हालसम्म ओली पक्षमा रहनुभएका सुवास नेम्वाङ लगायतका नेताहरुसँग छलफल गर्ने निधो भएको छ ।’

झम्सिखेल बैठकमा सहभागी ३० नेताहरुको नामावली यस्तो छ-

पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, रामबहादुर थापा बादल, नारायणकाजी श्रेष्ठ, युवराज ज्ञवाली, लीलामणि पोखरेल, रघुजी पन्त, देवेन्द्र पौडेल, मणि थापा, गणेश साह, चक्रपाणि खनाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, मात्रिका यादव, मुकुन्द न्यौपाने, देव गुरुङ, वर्षमान पुन, भीम रावल, शक्ति बस्नेत, जनार्दन शर्मा, टोपबहादुर रायमाझी, भीम आचार्य, वेदुराम भुसाल, हरिबोल गजुरेल, अष्टलक्ष्मी शाक्य, पम्फा भुसाल, गिरिराजमणि पोखरेल र घनश्याम भुसाल ।

ओलीका सम्भावित तीन विकल्पबारे छलफल

नेताहरुका अनुसार प्रधानमन्त्री ओलीले चाल्न सक्ने सम्भावित कदमहरुबारे पनि झम्सिखेल बैठकमा छलफल भएको छ । संकटकाल लगाउने, संसद विघटन गर्ने वा संसदीय दलमा बहुमत जुटाउने तीनवटा विकल्पमा प्रधानमनत्री ओलीले प्रयास गरेको नेताहरुको दाबी छ ।

पछिल्लो समय राष्ट्रपति विद्यादेवी भण्डारीसँग बाक्लिएको भेटघाटका कारण पनि संकटकाल लगाउन खोजिएको त होइन भन्ने नेताहरुको आशंका छ ।
संसद विघटन गर्ने विकल्प असंवैधानिक भएको र यसलाई अदालतले सहजै उल्टाउने प्रचण्ड- नेपाल समूहका नेताहरुको विश्लेषण छ ।

नेकपा संसदीय दलमा पनि प्रधानमन्त्री ओलीको बहुमत नपुग्ने नेताहरुको दाबी छ । नेकपाका १७४ सांसद छन् । उनीहरुमध्ये बहुमत प्रचण्ड र माधवकुमार नेपाल समूहसँगै भएको नेताहरुले दाबी गरेका छन् ।
यो अवस्थामा अब प्रधानमन्त्री ओलीले सम्वादमा आउन चाहने हो भने सबैभन्दा पहिले पार्टीको निर्णय मान्छु, विधि पद्दति र विधान अनुसार चल्छु भनेर प्रतिवद्धता जनाउनुपर्ने र पार्टीको बहुमतले जे निर्णय गर्छ त्यसलाई स्वीकार्नुपर्ने निश्कर्ष निकालिएको एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *