
तस्बिर सौजन्य: तीर्थराज ज्ञवाली।
त्रिभुवन विश्वविद्यालय भूगर्भशास्त्र केन्द्रीय विभागले लुम्बिनी प्रदेशको राजधानी दाङको भालुबाङ क्षेत्रको भूकम्पीय जोखिम मापन गरेको छ।
विभागको टोलीले दुई दिन लगाएर दाङ देउखुरीको राप्ती गाउँपालिका क्षेत्र र गढवा गाउँपालिकाको केही भू-भाग तथा छिमेकी जिल्ला अर्घाखाँचीको शितगंगा नगरपालिकाको वडा नं ८ र ९ को क्षेत्रमा भूकम्पीय जोखिम मापन गरेको हो।
भूगर्भशास्त्री डाक्टर सुमन पन्थी, डाक्टर सुवेश घिमिरे र डाक्टर कमलाकान्त आचार्यको टोलीले इलेक्ट्रिकल रेजिष्टिभिटी सर्भेको माध्यमबाट दुई दिन लगाएर ती क्षेत्रको भौगोलिक अवस्थाको अध्यन गरेको हो।
लुम्बिनी प्रदेशको राजधानी दाङको भालुवाङ क्षेत्र आसपासमा म्यान्टलको माथिल्लो सतहको अवस्था, म्यान्टलमा ताप र चापको फरकले गर्दा कन्भेक्सन करेन्ट पैदा हुने तरंगको कारण र अवस्थाबारे अध्यन गरिएको डाक्टर सुवेश घिमिरेले बताए।
हामी यो क्षेत्र भूकम्पीय हिसाबले कस्तो छ भनेर अध्यया गर्न आएका हौं,’ उनले भने, ‘विभिन्न खाले कम्पनको सहनशीलताबारे अध्ययन तथ्यांक संकलन गरेका छौं। त्यो सबै अध्यनपछि रिपोर्ट पछि सार्वजनिक गर्छौं।’
घिमिरेले भारतको कुमाउदेखि पोखरा-लमजुङसम्मको क्षेत्रमा लामो समय ठूलो भूकम्पीय धक्काको महशुस नगरिएको अवस्थालाई मध्यनजर गर्दै लुम्बिनी प्रदेशको स्थायी राजधानी बन्ने क्षेत्रको अवस्थिति बुझ्न आएको जानकारी दिए।
उक्त टोलीले भालुबाङ क्षेत्रको वारिपारिको भूभाग, गढवा गाउँपालिका क्षेत्रको राप्ती नदी पुल आसपासको भूभाग र अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका क्षेत्रको भूभागको अध्ययन गरेको थियो।
‘भौतिक संरचना निर्माणमा प्रयोग गर्न सकिने विधि पत्ता लगाउन पनि अनुसन्धान गरिएको हो,’ घिमिरेले भने ‘ हामीले संकलन गरेका कुरा रिपोर्ट तयार पारेर सार्वजनिक गर्ने छौं।
प्रदेश राजधानीका लागि ठूला भौतिक संरचना निर्माण हुने हुँदा जमिनको बनावटबारे जानकार हुनु आवश्यक रहेकोले भविष्यमा निर्माण हुने संरचना र जमिनको बीचमा रहेको अन्तर सम्बन्धलाई बलियो बनाउन पनि यो अनुसन्धान गरिएको घिमिरे जानकारी दिए।
‘भविष्यमा आउन सक्ने बाढी,पहिरो, भूकम्प, हावाहुरीलगायत सँग जमिनको कस्तो प्रतिक्रिया आउँछ भन्ने पत्ता लगाउन जरूरी हुन्छ,’ भूगर्भशास्त्री डाक्टर सुमन पन्थीले भने ,‘यो अनुसन्धानले ती कुरा पत्ता लगाउन सहयोग गर्छ। त्यसो भए भविष्यमा जनधनको क्षति कम हुन्छ।’
राप्ती तटीय जमिनको अवस्था र तराई, मधेस, पहाड, हिमालको भौगोलिक अवस्था तथा तल्लो भागमा रहेको जमिनको अवस्था फरक रहने हुँदा मापन गर्न आएको उनले बताए।
आफुहरु आएर राप्ती गउँपालिका क्षेत्र र गढवा गाउँपालिकाको वडा नं १ रङसिङ क्षेत्र तथा अर्घाखाँचीको सितगंगा नगरपालिकाको वडा नं. ८ र ९ क्षेत्रको भूकम्पिय जोखिम मापन गरेको र त्यो रिपोर्ट विश्व विद्यालयका सरोकार वालाहरु मार्फत जानकारी प्रवाह गर्ने पन्थीले बताए।
भौतिक संरचना निर्माणको क्रममा सल्लाह सुझाव दिन सजिलो होस् भन्ने अध्ययनको उद्देश्य रहेको पन्थीले बताए।
लुम्बिनी प्रदेशको राजधानीको व्यवस्थापनको लागि विभिन्न अध्ययन अनुगमन सँगै त्रिभुवन विश्वविद्यालय भूगर्भ शास्त्र केन्द्रीय विभागले पनि अध्ययन गरेर फर्किएको हो।
यसअघि गत शनिबार पूर्वाधार विकास प्राधिकरणसहितको टोलीले राप्ती गाउँपालिकाको राप्ती प्राविधिक शिक्षालय परिसर, बराखुटी , लालमटिया, घण्टदेव,पाखा पानी, शितगंगा नगरपालिकाको लापे, सात मारा गढवा गाउँपालिकाको कालाकाटे पश्चिमका क्षेत्रको अवलोकन गरेको थियो।
लुम्बिनी प्रदेशको स्थायी राजधानीको व्यवस्थापनका लागि राप्ती गाउँपालिकाका र गढवा गाउँपालिका तथा अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका विभिन्न स्थानको अध्ययन सुरू गर्न विभिन्न क्षेत्रबाट अध्ययन गर्ने क्रम जारी रहेको राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले जानकारी दिए।
@सेतोपाटि